धनगढी : डोटीका दुई पसलमा मंगलबार राती आगलागी भएको छ । जिल्लाको जोरायल गाउँपालिका – ३ चनकट्टेमा स्थानिय चक्र रावलको होटल र नजिकको कपडा सिलाउने पसलमा राती करिब १ बजे आगलागी भएको हो ।
त्यतिमात्रै नभई होटल सञ्चालन गरेको घरमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगलागीको बारेमा वडाध्यक्ष नविन ओझाले जानकारी दिएपछि प्रहरी नायव निरिक्षक भरत बहादुर रोकायाको कमाण्डमा ७ जना प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । उक्त टोली र स्थानियको सहयोगमा करिब ३ बजेर १५ मिनेटमा आगलागी नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आगलागी हुँदा होटेलभित्र भएको ग्यास सिलिन्डर समेत पट्किएको र होटेल भित्र तथा घरमा रहेका सम्पुर्ण खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका अन्य सामग्री जलेर नष्ट भएका छन । यस्तै होटल भएको घरसँगै जोडिएको काठको कच्ची सिलाई सेन्टर पनि जल्दा त्यसभित्र रहेका सिलाई मेसिन र लत्ताकपडाहरु पनि जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
आगलागीका कारण मानविय र चौपाया क्षति भने नभएको बताईएको छ । भान्साबाट आगो सल्किएको अनुमान गरिएको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।