धनगढी : भारतमा मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरका दुई युवकको मृत्यु भएको छ । भारतको उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा मोटरसाइकल र कार एक आपसमा ठोकिदा दुई नेपाली युवकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–३ का २४ वर्षीय सागर परियार र भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय निखिल जैरु रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कारसँग ठोक्किएर दुर्घटना भएको हो।
मोटरसाइकल नम्बर भने खुलेको छैन। उनीहरूको पोष्टमार्टम गरेर शव आफन्तले ल्याइसकेका छन्। दुर्घटनामा परी घाइते भएका एक जना उपचारपछि निको भएर घर फर्किएको डीएसपी जोशीले बताए। घाइतेको नाम नखुलेको उनले बताए।