धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् । खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् ।
तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् । पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको भन्दै यी नाममा असहमति रहेको र नियुक्ति प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ । यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।
पुर्ब मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रमेश सिहं धामीले दलको बैठकबाट भाँगेर मन्त्रीको नाम सिफारिश गरिएपछि मन्त्री नियुक्त नगर्न माग गरिएको बताए । दलको बैठक स्थगित गरेर बाहिरबाट नाम पठाउनु संसदिय दलको बिधि पद्धती बिपरित भएको भन्दै उनले आपत्ति जनाएका हुन् । मुख्यमन्त्रीलाई मन्त्री नियुक्ती नगर्न माग गरिएको बताउँदै धामीले यिनै मन्त्री नियुक्ती भए सरकार नरहने दावी गरे ।