धनगढी : अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ११ वटा खच्चडको सकुशल उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको कोइरालाले जानकारी दिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।
पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो । स्थानीय भरत साउदका अनुसार फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । ‘तार काटेर झारियो भने सीधै मर्ने भए । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदैछ’, उनले भने ।
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।