धनगढी । बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कि २१ बर्षिया बसन्ती देवी धामी लाइ बझाङबाट हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए ।
जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे तीर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । ।
पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भए पछि उपचारको लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल बझाङका डा ओव्जन रावलले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८० ८१ को हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बझाङबाट ६ जना सुत्केरी वा गर्भवती महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।