धनगढी : सत्ता साझेदार दलको असहयोगका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता जोगाउन अप्ठेरो पर्ने भएको छ । सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ५१ दिन वितेको छ भने विश्वासको मत लिएको २३ दिन पुरा भएको छ । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले जेठ ३ गते विश्वासको मत पाएका थिए । विश्वासको मत पाएको तीन साता वित्दा पनि उनले प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । तीन सदस्यीय मन्त्रीमण्डलको भरमा सरकार चलाउदै आएका सोडारीलाई सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले मन्त्री बपठाउँदा सरकारका कामकारवाही नै प्रभाववित हुने खतरा बढेको छ ।
संविधान अनुसार आगामी आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने बाध्यता छ । तर जेठ अन्तिम सातासम्म पनि बजेट बनाउने जिम्मा पाएको अर्थमन्त्रालय मन्त्रिविहीन छ । बजेट निर्माणको समयमा अर्थमन्त्रालय नै खाली राख्दा मुख्यमन्त्रीमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सोडारीमाथि मन्त्रिमण्डल विस्तार नै गर्न नसकेको भनेर टिप्पणी भइरहँदा त्यो भन्दा बढी सत्तारुढ दल नेकपा एमालेको नियतमाथि प्रश्न उठेको छ । मुख्यमन्त्री सोडारीको नियुक्तीदेखि विश्वासको मत दिँदा र सरकारलाई पूर्णता दिनेसम्म एमालेले अनेकन अड्को हाल्दै गएपछि हालसम्म सरकारले पूर्णता पाउन नसकेको प्रस्टै छ । अझै पनि एमाले सोडारी नेतृत्वको सरकारमा जान तयार भैसकेको छैन । एमाले नगएपछि माओवादीले पनि सरकारमा जान चाहेको छैन ।
बझाङको उपनिर्वाचन अघिसम्म सरकारमा जानेनजाने विषयको निक्र्योल उपनिर्वाचनको परिणामले तय गर्ने एमालेको भनाइ थियो । त्यसवेला एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भनेका थिए, ‘हामीले पहिल्यैदेखि भन्दै आएकै कुरा हो,उपनिर्वाचन जितेको खण्डमा सरकारमा सहभागी हुन्छौँ । नभए बाहिरबाट सहयोग गर्छौं ।’ एमालेको पक्षमा उपनिर्वाचनको मत परिणाम आएपछि मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गर्न लगाए । मुख्यमन्त्रीले यो तयारी गर्दैगर्दा नेकपा एमाले तत्काल विश्वासको मत दिन नसकिने अडानमा कस्यो । जसले गर्दा बैशाख २२ गतेलाई बोलाएको बैठक बस्नै सकेन । एमालेले सल्लाह नै नगरी संसद बैठक आह्न गरेको भन्दै त्यसमा पनि असहमति जनायो ।
एमालेको असहमतिपछि उक्त दिनको बैठक नै रोकियो । विश्वासको मत लिने सोडारीको दोस्रो प्रयास पनि असफल हुनपुग्यो । तेस्रो प्रयासमा सोडारीले गत जेठ ३ गते विश्वासको मत त पाए तर सरकार विस्तार गर्न सकेनन् । सोडारीलाई एमालेसहित माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत पाएका थिए । तर उनले यो विचमा सरकार विस्तार गर्न गरेको प्रयास सफल हुन सकेन । शुक्रबारसम्म पनि सुदूरपश्चिम सरकार विस्तारमा देखिएको अन्योल कायमै छ ।