धनगढी: डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरिएको छ। सोमबार एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र नेपाली सेनाको २५ नम्बर बाहिनी कञ्चनपुरका बाहिनीपति सहायकरथी मनोज थापाले संयुक्तरूपमा बडाकाजी थापाको धातुनिर्मित सालिकको अनावरण गरेका हुन्।
थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो। यसअघि किल्लामा राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने धेरैले गुनासो गरेपछि नयाँ सालिक राखिएको नगरप्रमुख जोशीले बताए। उनका अनुसार थापाको गोरखा जिल्लामा रहेको सालिकजस्तै यहाँ पनि राखिएको हो। नगरपालिकाको झण्डै एक वर्षको प्रयासपछि अहिले किल्लामा नयाँ सालिक राख्न सफल भएको उनले बताए।