धनगढी : भारतको बेंग्लुरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर–१, का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन् । कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए ।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासि ग्याँस विस्फोट भएको थियो । घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।
‘घटनापछि पााचै जनालाई उपचारका लागि अस्पताल पुर्याए पनि छोराको हिजो मृत्यु भएको हो । छोरी अनिताको आज बिहान मृत्यु भएको छ, घाइते भएकाहरूको उपचारका लागि सहयोग गरिरहेकी एक जना नेपाली जमुना पौडेलले बेंग्लुरुबाट भनिन्, ‘घाइतेमध्ये मदनको अवस्था निकै गम्भीर छ । जेठी छोरी ११ वर्षकी निरुताको स्वास्थ्य अवस्था पनि जटिल छ भनेर डाक्टरले भन्नु भएको छ ।’
मदनकी श्रीमती प्रेमजला ७२ प्रतिशत र छोरी निरुताको ४७ प्रतिशत शरीर जलेको चिकित्सकले बताएको उनले जानकारी दिइन् । झ्याल नभएको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको घाइतेहरूले सुनाएको पौडेलले बताइन् । न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउामा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।