डडेलधुरा : सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल कलेजलाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट भाषणमा सो घोषणा गर्नुभएको हो । सङ्घीय अस्पतालका रूपमा रहेको डडेलधुरा अस्पताललाई पाँच सय शय्या बनाउने प्रस्ताव स्थानीयस्तरबाट पटक पटक उठेको हो । अस्पतालले ओ एन्ड एम सर्भे गर्दै पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको थियो ।
उक्त अस्पताल मेडिकल कलेज भएकाले पनि सो प्रस्ताव पारित भई ४० वटा विभाग र ४० एकाइ रहने व्यवस्था गरिएको छ । अस्पतालमा १२ औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दीको प्रस्ताव गरिएको छ । हाल अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा छ । दरबन्दी पनि उपक्षेत्रीय अस्पतालसरहको मात्रै स्वीकृत छ । विशिष्ट विशेषज्ञ अस्पताल घोषणा गरिए पनि यस अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।
उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनाइएको छ वर्ष पुगे पनि अधिकांश दरबन्दी खाली छन् । ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट रहने व्यवस्था भए पनि सो पद हालसम्म पूर्ति हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठुलो अस्पतालमा स्तरोन्नति गरी १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । स्वीकृत दरबन्दी अनुसार पनि एक जना ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौँ र १० औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने थियो तर हालसम्म आठौँ तहका मेसुले अस्पताल सञ्चालन भइरहेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो । २०१८ सालदेखि विभिन्न नामबाट सेवा प्रवाह गर्दै आएको सो अस्पताल अमेरिकी नागरिक डा। मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गर्नुभएको थियो । त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको हो । २०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भएको हो । २०५१ सालमा ५० शय्यामा स्तरोन्नति हुँदै २०७० सालमा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएको थियो ।