धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । प्रदेश सरकारले पुर्णता पाउन नसकेको अवस्थामा पनि बजेट निर्माणको कामलाई भने तिव्रता दिईएको हो । अधिकांश मन्त्रालयहरु मन्त्री विहीन भए पनि कर्मचारी तवरबाट बार्षिक बजेट निर्माणका लागि काम अगाडी बढाईएको छ । आगामी आर्थिक बर्षको बजेट निर्माणले गति पाएको अवस्थामा चालु आर्थिक बर्षमा भने पुँजीगत बजेट कार्यान्वयनको अवस्था नाजुक रहेको छ । आर्थिक बर्ष सकिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा चालु आर्थिक बर्षको ५९ प्रतिशत बजेट भने खर्च हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । प्रदेश सरकारका सात मन्त्रालय मध्ये ५ वटा मन्त्रालय विहीन भएको अवस्थामा पनि बजेट निर्माणको कामले तिव्रता पाएको हो । प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोग मार्फत सुदूरपश्चिम सरकारको योजना तर्जुमा दिग्दर्शन २०७८ र सुदूरपश्चिम प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन, २०८० ल्याएकोमा सोही अनुसार सम्बन्धित मन्त्रालयहरुमा कर्मचारीहरुको तबरबाट सिलिङ अनुसार बजेट निर्माणको काम भईरहेको प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । अधिकांश मन्त्रालयहरु मन्त्री विहीन भएपनि मुख्यमन्त्रीको सल्लाह र मार्ग निर्देशन अनुसार बजेट निर्माणको कामलाई अगाडी बढाईएको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव कमान सिंह खत्रीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८१÷०८२ को बजेटको अन्तिम तयारीमा जुटेको छ । प्रदेशमा असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संघबाट प्राप्त हुने अनुदान, राजश्व बाँडफाँट, प्रदेशमा उठ्ने राजश्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्नेछ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि २९ अर्ब २६ करोडको बजेट सिलिङ ल्याएको थियो । सोही अनुसारको बजेट सिलिङ आर्थिक मामिला मन्त्रालयमा पठाएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । प्रदेशका ७ मन्त्रालय, २ वटा आयोग, प्रदेश सभा सचिवालय,प्रदेश प्रमुखको कार्यालय, मुख्य न्याधिवक्ताको कार्यालयलाई बजेटको सिलिङ पठाइएको हो । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले दिने अनुदान बजेट र प्रदेशको राजश्वका आधारमा चालु आर्थिक बर्षकै हारहारीमा बजेट आउने प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव कमान सिंह खत्रीको भनाई छ ।
यता आगामी आर्थिक बर्षको बजेट निर्माणको चटारो बढेका बेला चालु आर्थिक बर्षको बजेट खर्चको अवस्था भने निकै नाजुक रहेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार हालसम्म प्रदेश सरकारको कुल बजेटको झण्डै ३९ प्रतिशत मात्रै खर्च भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको हालसम्म ११ अर्ब २१ करोड ५५ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यो अवधिमा प्रदेश सरकारले चालुतर्फ पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ पाँच अर्ब २३ करोड ६६ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ । कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक एवम् अर्थविद् गगन घिमिरेले समग्रमा राजनीतिक गतिविधिका साथै समयमै काम नगर्ने परिपाटी तथा ऐन कानुन अभावले प्रदेशको बजेट खर्च नहुने समस्या देखिएको बताउनुभयो ।
अर्थका जानकारहरुका अनुसार विभिन्न समस्या र कठिनाईका कारणले पनि प्रदेशको विकास बजेट कार्यान्वयनमा समस्या देखिदै आएकोले यसमा सुधार गर्न आवश्यक रहेको छ ।
सुदूरपश्चिममा चालु आर्थिक बर्षको पुँजीगत बजेट खर्च नाजुक, ५९ प्रतिशत बजेट खर्च हुन बाँकी
सुदूरपश्चिममा चालु आर्थिक बर्षको पुँजीगत बजेट खर्च नाजुक, ५९ प्रतिशत बजेट खर्च हुन बाँकी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु