धनगढी : सुदूरपश्चिम प्रदेश सभा कानुन निर्माणमा उदासीन देखिएको छ । अर्कोतिर प्रदेश सभाका सदस्यहरूको कार्यसम्पादन पनि अति कमजोर देखिएको छ । प्रदेश सभा सचिवालय धनगढीले उपलब्ध गराएको तथ्याङ्क अनुसार दोस्रो प्रदेश सभामा हालसम्म जम्मा ४७ वटा बैठक बसेको छ । हालसम्म ३ वटामात्रै अधिवेशन सञ्चालन भएको प्रदेश सभामा प्रथम अधिवेशनमा ९ वटा बैठक, दोस्रो अधिवेशनमा २८ वटा बैठक र तेस्रो अधिवेशनमा १० वटा बैठकमात्रै बस्न सकेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको तेस्रो अधिवेशन जेठ ४ गते शुक्रबार अन्त्य भएको हो । त्यसअघि जेठ ३ गते मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।
कसको हाजिरी कति ?
दोस्रो प्रदेश सभाको ३ वटा अधिवेशनमध्ये तेस्रो अधिवेशनको १० वटा बैठकमा प्रदेश सभा सदस्यहरूको हाजिरी विवरण केलाउँदा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा एक दिनमात्रै हाजिर भएको देखिन्छ । त्यस्तै, माओवादी केन्द्रका नेतासमेत रहेका प्रदेश सभा सदस्य खगराज भट्ट गयल हुनेमा दोस्रो स्थानमा छन् । उनी १० दिनमा जम्मा ३ दिनमात्रै हाजिर भएको प्रदेश सभा सचिवालयको हाजिरी तथ्याङ्कमा उल्लेख छ ।
माओवादी केन्द्रका पूर्वमन्त्रीद्वय झपट बहादुर साउद र रमेशसिंह धामी ४ दिनमात्रै उपस्थित देखिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य तथा निवर्तमान सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी पनि १० दिनमा ४ दिनमात्रै उपस्थित देखिएका हुन् । प्रदेश सभा सदस्यहरू अक्कल बहादुर रावल, घनश्याम चौधरी र जानकी ऐर ९बम० भने १० वटामध्ये सबै बैठकमा उपस्थित देखिएका छन् ।
यस्तै, डम्मरी महरा, तुलसी देवकोटा, दिवानसिंह बिष्ट, धर्मराज पाठक, विक्रमसिंह धामी, बीरबहादुर राना, भीमबहादुर भण्डारी र मधुदेवी भारती पनि १० मा १० वटै बैठकमा उपस्थित भएका छन् । प्रदेशसभा सदस्यहरू रामेश्वर चौधरी, लक्ष्मी विक, माया पन्त र सन्तोष कुमारी शर्मा पनि १० वटै बैठकमा उपस्थित भएका छन् । रातोपाटीबाट