धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं संसदीय दलको नेता रञ्जिता श्रेष्ठले आफ्नै दलका सांसद गंगाराम चौधरीमाथि कटाक्ष गरेकी छिन् । सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा उपस्थित नभएपछि सांसद चौधरीमाथि मंगलबार फेसबुकमार्फत श्रेष्ठले घुमाउरो रूपमा कटाक्ष गरेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन संसदमा आएनन् । त्यसको भोलीपल्ट पार्टी अध्यक्ष श्रेष्ठले स्वस्थ रहेकी श्रीमतीलाई क्यान्सर भई उपचारको बहाना गरेको भन्दै कटाक्ष गरेकी हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले भेट गरेको तस्बिर सहित उनले कटाक्ष गरेकी थिइन् ।
उता सांसद गंगाराम चौधरीले विश्वासको मत लिने दिन श्रीमतीको उपचारका लागि काठमाडौँ बाहिर रहेको बताए । तर मंगलबार काठमाडौँ रहेका उनलाई कुन अस्पतालमा हुनुहुन्थ्यो भन्ने हाम्रो प्रश्नमा जवाफ नदिई फोन राखे । यद्यपि उनले पार्टी अध्यक्ष सरकार समर्थक रहेकोले आफ्नोपनि समर्थन हुने बताएका थिए । उनी रेशम चौधरी पक्षमा रहेका छन् ।