धनगढी : नेकपा एमालेका स्थाई समिति सदस्य कर्ण थापालाई आफ्नै जिल्लामा धक्का लागेको छ । थापा प्यानललाई पार्टी केन्द्रिय सदस्य लाल बहादुर थापा टिमले क्लीन स्वीप गरेको छ । पदाधिकारीमा लाल बहादुर थापा प्यानलका लाल बहादुर ओलीको प्यानल विजयी भएको हो । अध्यक्ष लाल बहादुर ओली, उपाध्यक्षमा जनक कुमार बोहरा, सचिवमा काशी बहादुर बिक, उपसचिवमा हरि बहादुर रोकाया र राजकला सार्की विजयी भएका छन् ।
अध्यक्ष लाल बहादुर ओलीले २१८, उनका प्रत्याशी भरत बहादुर थापाले २०३, उपाध्यक्षमा जनक कुमार बोहराले २७४ उनका प्रत्याशी मेघराज शाहीले १२०, सचिवमा काशी बहादुर विकले २४१ उनका प्रत्याशी जनक विष्टले १७१ उपसचिवमा हरि बहादुर रोकायाले २७७ उनका प्रत्याशी मान बहादुर रोकायाले ११५ र राजकला सार्कीले २७७ र उनका प्रत्याशी कल्पना महतले १२६ मत ल्याएका छन् । अधिवेशन जेठ १ गते बाट सुरु भएको थियो ४ सय ३९ जना प्रतिनिधि मध्ये ४ सय २५ मते खसेका थिए । नेकपा एमाले आठौँ जिल्ला अधिवेशनको चुनावी सरगर्मीको मैदानमा अध्यक्षमा भरतबहादुर थापा र लालबहादुर ओली उत्रिएका थिए ।
भरत बहादुर थापालाई एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाको समर्थन रहेको थियो, उनकै पक्षमा केन्द्रीय सदस्य द्वय प्रकाश शाह र सहदेश बोगटी, निबर्तमान सांसद बल्देव रेग्मी र नेता रंगमान शाहीको समेत साथ रहेको थियो । लाल बहादुर ओलीलाई केन्द्रीय सदस्य लालबहादुर थापा र प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाहीले साथ दिएका थिए । केन्द्रीय तहका दुवै नेता बुढिगंगा नगरपालिकाका हुन् । भिम रावलपछि सुदुरपश्चिममा पार्टी भित्र आफ्नो निकै पकड बनाएका थापाले गृह जिल्लामै आफ्नो साख जोगाउन सकेनन् ।
हाल स्थाई समिति सदस्य थापा र पार्टी केन्द्रिय सदस्य दामोदर भण्डारीले प्रदेशमा दुई समुहको नेतृत्व गरिरहेका छन् । हालसम्म प्रदेशका ६ जिल्लाको अधिवेशनबाट कञ्चनपुर बाहेक सबै जिल्ला भण्डारी निकटले नेतृत्व सम्हालेका छन् । अछाम, डोटी र बझाङको अधिवेशन बाकीँ रहँदा सुदुरपश्चिम प्रदेशमा भण्डारी समुह हावी बनेको छ । स्थाई समिति सदस्य थापा संग पोलिटब्युरो सदस्य गौरी ओली, निरु देवी पाल, नारदमुनी राना लगायत नेताहरुको साथ छ भने, केन्द्रिय सदस्य भण्डारीलाई पोलिट्ब्युरो सदस्य राजेन्द्र सिहं रावल, गणेस सिहं ठगुन्ना, लिला भण्डारी लगायत नेताहरुको समर्थन छ, बाजुरामा निर्वाचित ओलीपनि दामोदर भण्डारी समर्थक रहेका लाल बहादुर थापा निकट नेता हुन् ।
जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ गतेसम्म सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि ६ गते विहानबाट प्यानल सहित दुई टिम बनाएर निर्बाचनमा होमीएका थिए । नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिबेशन निर्वाचन प्रकृयाबाट ४३ सदस्य निरबिरोध निर्वाचित भएका छन । नेकपा एमालेको जिल्ला कमिटी ९० जनाको रहने छ ।