धनगढी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन्। नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्नसमेत गरे।
उनले प्रधानमन्त्री दाहाल आफैलाई प्रधानमन्त्री केका भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढ्ने कुरामा ठूला दल कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडानसमेत दोहोर्याए।
उनले भने,‘ राजनीतिक दलहरु को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनुभएको छ। मलाई त त्यही आभास हुन्छ। सबै राजनीतिक दलको नेतृत्व वर्गसँग कुरा गर्दाखेरी को प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनुभएको छ। केको लागि प्रधानमन्त्री बन्ने? प्रधानमन्त्री बनेर गर्ने के? भन्ने कुरा आज तपाईंहरुले कसैलाई सोध्नुभयो ? प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्नसक्ने अवस्था छैन।’