धनगढी : सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले बिश्वासको मत दिने भएको छ । पार्टी केन्द्र सगंको परामर्षपछि एमाले बिश्वासको मत दिन तयार भएको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ । यद्यपि यो बारेमा औपचारिक निर्णय गर्न बाँकी छ ।
एमाले सुदुरपश्चिम प्रदेशसभा सदस्य धर्म पाठकले मुख्यमन्त्री सोडारीलाई बिश्वासको मत दिने बताए । त्यसका लागी जेठ २ गते ससंदिय दलले आधिकारिक निर्णय गर्ने पाठकले बताए । “हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं । पार्टी नेतृत्वको निर्देशन पनि प्राप्त भएको छ,” उनले भने । ६ बैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ बैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।
तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन । एमालेले केन्द्रको निर्देशन नआएको भन्दै २२ बैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएको थियो । मुख्यमन्त्री सोडारीले पर्सि जेठ ३ गते बिहान सवा १० बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एकरएक सांसद रहेका छन्।