धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट विश्वासको मत पाउने विश्वास लिएका छन् । पार्टीको बैठकको सिलसिलामा काठमाडौँमै रहेका उनले जेठ ३ गते बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरे । सोडारी एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता समूह र स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको २८ दिनपछि उनले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत दिने सम्बन्धमा गठबन्धन दलभित्र कुनै समस्या नभएको उनको जिकिर छ ।
‘गठबन्धन दलभित्र कुनै समस्या छैन । सबै दलहरूसँगको सल्लाह बमोजिम नै जेठ ३ गते प्रदेश सभा बैठक बोलाइएको हो । विश्वासको मत पाउनेमा म ढुक्क छु’, मुख्यमन्त्री सोडारीले भने । यसअघि उनले वैशाख २१ र २२ गते प्रदेश सभाबाट विश्वासको मत लिन चाहेका थिए । तर नेकपा एमालेले आफूसँग कुनै सल्लाह नगरी मुख्यमन्त्री अगाडि बढेको भन्दै यथास्थितिमा विश्वासको मत दिन नसक्ने अडान लिएपछि दुवै पटक प्रदेश सभा बैठक स्थगित भएको थियो ।
माओवादीले मत दिने, एमाले निर्णय कुर्ने
सत्ता घटक माओवादी केन्द्रका सांसद झपटबहादुर साउदले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने बताए । यस विषयमा छलफल गर्न ३ गते बिहान संसदीय दलको बैठक बोलाएको उनले बताए । ‘मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँलाई विश्वासको मत दिने पक्षमा हामी छौँ । विश्वासको मत दिने विषयमा शीर्ष तहमा समझदारी भएको खबर पाएका छौँ,’ साउदले भने, ‘सोही विषयमा निर्णय लिन जेठ ३ गते बिहान दलको बैठक बोलाइएको छ ।’
एमालेका सांसद चक्रबहादुर मल्लले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा दलभित्र कुनै छलफल नभएको बताए । ‘यस विषयमा निर्णय लिन दलको बैठक बोलाउँछौँ । बैठकले जे निर्णय गर्छ, हामी त्यही गर्छौं,’ मल्लले भने । विश्वासको मत लिने विषयमा मुख्यमन्त्री सोडारीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसँग शुक्रबार बालुवाटारमा भेट गरेको एकीकृत समाजवादीका नेताहरूले दाबी गरेका छन् । प्रचण्ड र ओलीको सहमतिमै जेठ ३ गते विश्वासको मत लिने तयारी भएको एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले बताएका थिए ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ मत आवश्यक पर्छ । गठबन्धन दलहरू एमालेको ११, माओवादी केन्द्रको १०, एकीकृत समाजवादीको ४, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता समूहको २ र स्वतन्त्र गरी जम्मा २८ मत छ । प्रदेश सभामा कांग्रेसको १८, नाउपा रेशम चौधरी पक्षका ५ र राप्रपाको एक सांसद छन् । तीमध्ये नाउपाका प्रमुख सचेतक खुसीराम डगौरा थारुले विश्वासको मतको पक्षमा मतदान नगर्न यसअघि नै ह्वीप जारी गरेका थिए । यद्यपि एकीकृत समाजवादी र एमालेबिच सङ्घमा तिक्ततापूर्ण सम्बन्ध रहेकाले मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउनेमा आशङ्का जन्माएको छ । संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत नपाए उनी स्वतः पदमुक्त हुनेछन् ।