धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा भएको बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सहइन्चार्ज वीना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव पनि सहभागी भएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दलभित्रका विषयमा बैठकमा छलफल भएको संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए । अहिलेसम्म पनि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन । उनका अनुसार बैठकमा पहिले विश्वासको मत दिने र त्यसपछि सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । ‘सुदूरपश्चिम सरकारले अझै विश्वासको मत पाएको छैन । हामी विश्वासको मत दिने तयारीमा छौं’, उनले भने, ‘पहिले विश्वासको मत दिन्छौं । त्यसपछि सरकार विस्तारलाई तीव्रता दिन्छौं ।’
उनका अनुसार जनमुखी नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी थाल्ने विषयमा पनि छलफल भएको थियो । बैठकमा धामीसहित सुदूरपश्चिम प्रदेशका खगराज भट्ट र जानकीदेवी कुँवरबाहेक आठ सांसद उपस्थित थिए । यसअघि खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई माओवादी संसदीय दलको नेता बनाएको भन्दै विरोध जनाएका दुई सांसद पनि बैठकमा उपस्थित भएका छन् ।