कञ्चनपुर। रुसी सेनामा कार्यरत कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा बसोबास गर्ने विष्टको परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् । पूर्वनेपाली सेना समेत रहेका विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए। गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए ।
मृतक बिष्टका पत्नी, एक छोरा र एक छोरी छन्। छोरा ईञ्जिनियरिङ र छोरी ११ कक्षामा अध्ययनरत छन्। नेपाली सेनाको जागीर छोडेर केही दुबई प्रहरीमा काम गरेका बिष्ट पछिल्लो समय सिंगापुर प्रहरीको अध्यागमन युनिटमा कार्यरत थिए ।तिहारमा बिदामा काठमाण्डौं आएका बिष्ट फर्केर रुसी सेनामा भर्ना भएका थिए। उनीसंग गएका भाई निराजन र बिष्ट थरका अर्का एक युवक पनि रुसी सेनामा भर्ना भएका थिए ।
एउटै मोर्चामा संगै रहेका ४३ वर्षीय भाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका बिराजनको एम्बुस बिष्फोटमा मृत्यु भएको हो । उनीहरुसंगै रहेका धनगढीका युवकको मृत्यु भएको बताईएको छ। संगै रहेका रुसी सैनिकले बिराजनको मृत्यु भएको पुष्टि गरेको बताईएको छ। तर त्यसको औपचारिक पुष्टि हुन भने सकेको छैन। बैतडी पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगरसंगै सानो ठिमी भक्तपुरमा समेत बसोबास छ । हालसम्म रुसी सेनामा गएका ४१ जना नेपालीको मृत्यु भइसकेको खबर आएको छ।