धनगढी। कैलाली र कञ्चनपुरका यातायात व्यवस्था कार्यालयमा झण्डै दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
यातायात व्यवस्था कार्यालयहरुबाट नयाँ तथा नविकरणका लागि सबै प्रक्रिया पूरा गरेका सवारी चालक अनुमति पत्र आउन बांकी छ । दुई बर्ष देखी लाइसेन्स कार्ड प्रिन्ट हुन बांकी हुँदा सेवाग्राही समस्यामा परेका हुन् । सवारी चालक अनुमतिपत्र नआएपछि यातायात कार्यालयले लाइसेन्सको विवरण प्रिन्ट गरेर दिने गरेको छ । त्यसकै आधारमा सवारी साधन चलाउन सकिन्छ । तर त्यो पनि च्यातिने गरेका कारण समस्या हुने गरेको छ । कार्यालयहरुले अहिले पनि लाइसेन्सका लागि लिखित तथा ट्रायल लिने काम गरिरहका छन् ।
तर लाइसेन्स समयमै दिन नसक्दा भने सेवाग्राही नै मारमा परेका छन् । झण्डै एक वर्षअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणका लागि आवेदन दिएका कैलालीका बिराज जोशीले चालक अनुमतिपत्र प्राप्त गरेका छैनन् । राजस्व तिर्नेदेखि सबै प्रक्रिया पूरा गर्दा पनि अहिलेसम्म नपाइएको बताए ।
यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहले २० महिना देखी सवारी चालक अनुमति पत्र आउन बांकी रहेको बताए । डिजिटल कार्ड सकिएका कारण नयाँ तथा नविकरण गर्नुपर्ने लाइसेन्स विभागबाटै लाइसेन्स प्रिन्ट हुन नसकेको र अहिले छपाईको काम भएकाले छिट्टै आउने बताएका छन् । उनका अनुसार २०७९ साउन देखी यातायात व्यवस्था कार्यालय धनगढीका ४० हजार नयाँ तथा नविकरणका लागि लाइसेन्स कार्ड आउन बाँकी रहेको बताए ।
कञ्चनपुर बेलौरीका गोकर्ण उपाध्यायलाई सोधपुछ गर्न यातायात व्यवस्था कार्यालय कञ्चनपुर महेन्द्रनगर पुग्न उनलाई एक दिन पुरै लाग्ने र सोधपुछकै लागि तीन/चार पटक आइसकेको बताए । यसो गर्दा एक वर्ष हुनै लाग्दा सोधपुछकै लागि आउदा समेत नवीकरण भन्दा बढी खर्च भइसकेकोमा अझै लाइसेन्स नआएको उनले बताए ।८ महिनाअघि लिखित र ट्रायल पास गरेका बेलडाँडी गाउँपालिका–५ का सीताराम रानाले पनी हालसम्म लाइसेन्स पाएका छैनन् । यातायात कार्यालयले पास गरेको विवरण कागजमै प्रिन्ट गरेर दिन्छ, तर ट्राफिक प्रहरीले कुनै बेला त्यसलाई नमानेर दुःख दिने गरेको उनले बताए ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरबाट नयाँ तथा नविकरणका लागि सबै प्रक्रिया पूरा गरेका ६ हजार बढी सवारी चालक अनुमति पत्र आउन बांकी छ ।दुई वर्षदेखि लाइसेन्स कार्ड प्रिन्ट हुन बांकी रहेको कार्यालयले जनाएको छ । डिजिटल कार्ड सकिएका कारण नयाँ तथा नविकरण गर्नुपर्ने लाइसेन्स विभागबाटै लाइसेन्स प्रिन्ट हुन नसकेको र नआएको यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख तारादत्त भट्टले बताए । ६ हजार बढीको लाइसेन्स नयाँ तथा नवीकरण गर्नुपर्ने भएकाले दिनहु १०/१५ जना सोधपुछ गर्न आउने गरेको उनले बताए । लाइसेन्स दिन नसक्नु प्रमुख समस्या भएकाले जतीसक्दो चाँडो यस समस्या समाधानका लागी पहल गरिरहेको बताए ।
लिखित र ट्रायल पास भएकालाई सुरुमा एक वर्षका लागि परीक्षणकालिन लाइसेन्स दिइन्छ । अहिले उक्त समयावधि सकिएकालाई पास भएको विवरण प्रिन्ट गरेर प्रमाणका रुपमा दिने गरेको उनले बताए । त्यो पनि च्यातिने गरेका कारण सेवाग्राहीलाई समस्या हुने गरेको छ ।