धनगढी। कैलालीमा भन्सार छली गरी ल्याइएका पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरी अवैधरुपमा ल्याइएका पाँच लाख नौ हजार ५४० मुल्यका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार धनगढी ३ को ज्ञानुप्लाजा नजिकैबाट १ लाख २८ हजारको कुर्ता,सुट,दोपट्टा,भजनी नगरपालिका–८ को खैराबाट २ लाख ३४ हजारको सुर्ती र बिडीसहित एउटा मोटरसाइकल बरामद गरिएको छ।
यस्तै, भजनी नगरपालिका-५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने तेल, प्लाष्टिक झोला लगायतका सामान,टीकापुर नगरपालिका–९ को खक्रौलाबाट २५ हजारको तर्बुजा र कैलारी गाउँपालिका–५ बाट १० हजार बराबरको दुई वटा टेबुल पंखा बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। ती सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।