घोडाघोडी। कैलाली जिल्लामा धानको ब्याड राख्ने समय सुरु भएको छ । घोडाघोडी क्षेत्रका करिब पाँच सय किसान भत्किएको सिँचाइ कुलो नबन्दा खेत बाँझो हुने चिन्तामा छन् ।
घोडाघोडी नगरपालिका–१, घोडाघोडी, कौवा, कैलाशपुर र सुखडका किसानको सयौँ बिघा जमिन नकरोड तालबाट ल्याइएको पानीले सिञ्चित हुँदै आएको छ । २०७९ सालको बाढीले कुलो र बाँध भत्काएपछि सिँचाइमा समस्या आएको हो ।घोडाघोडीका स्थानीय राजु आचार्यले सिँचाइ सुविधाका कारण बाह्रैमास खेती हुने जग्गा गत वर्षदेखि आकासे पानीको भरमा रहेको बताए ।
उनले भने, “अहिले कुलोको पानी भएको भए बिउ राखिसक्ने बेला भयो, बर्खे मकै लगाइन्थ्यो, सिँचाइ नहुँदा बिउ राख्न समस्या भएको छ ।” नल्का (धारा) को पानीले जेनतेन धानको बिउ राखे पनि समयमा पानी परेन भने बिउ सुकेर मर्ने र धान कम फल्ने समस्या रहेको किसान बताउँछन् । यहाँका किसानले परम्परादेखि नै नकरोड तालको पानी खेतसम्म ल्याउन प्रत्येक वर्ष श्रमदान गरेर कुलो सरसफाइ तथा निर्माण गर्दै आएका छन् ।
किसानकै प्रयासमा बग्धौली सिँचाइ उपभोक्ता समिति गठन गरी केही वर्षअघि बजेटको व्यवस्था गरेर कुलोको स्तरोन्नतिसँगै पक्की बनाइएको थियो । कुलोमा पानी नियन्त्रणका लागि बनाइएको ‘आउटलेट’ सहित २०७९ साल भदौमा आएको बाढीले कुलो भत्काएपछि निर्माण हुन सकेको छैन । कुलो निर्माण नहुनुमा उपभोक्ता समिति कमजोर रहेको आरोप स्थानीय किसानको छ । बग्धौली सिँचाइ उपभोक्ता समितिका सचिव दिलबहादुर धामीले आफूहरू समितिमा नआउँदै कुलो भत्किएकाले अब निर्माणको पहल भइरहेको बताए ।
“सिँचाइ डिभिजन कार्यालयमा कुलो मर्मत निर्माणका लागि प्रस्ताव पेस गरेका छौँ । सके यसै वर्ष नसके आगामी वर्षबाट बजेट छुट्याएर भत्केको कुलो निर्माण गर्ने आश्वासन पाएका छौँ,” उनले भने। स्थानीय सीता विक किसान आफैँ एकजुट भई कुलो सफा गर्ने, ड्याम मर्मत गर्ने र पानी आलोपालो गर्दै आएको बताउँछन् । सिँचाइ डिभिजन कार्यालयको सहयोगमा करिब १४० मिटर लामो कुलो निर्माण गरिएको हो । बाढीले भत्काएको पक्की कुलो पुनर्निर्माणका लागि करिब ५० लाख रुपियाँ लाग्ने जनाइएको छ । यसका लागि केन्द्र सरकार र प्रदेश सभा सदस्य, स्थानीय सरकार प्रमुखलाई आग्रह गरिएको उपभोक्ता समितिका निवर्तमान उपाध्यक्ष हरिलाल सापकोटाले बताए ।
“आगामी असार १५ सम्म बग्धौली सिँचाइ कुलोको पानीले धान रोपेर सक्नुपर्ने अवस्था छ । यहाँका किसान अहिले जग्गा बाँझो हुने हो कि भन्ने चिन्तामा छन्,” उनले भने । बग्धौली सिँचाइ आयोजनाबाट दुई सय हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुने गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख अमरबहादुर पालले बग्धौली सिँचाइ योजना निर्माणका लागि आगामी वर्षबाट बजेटको व्यवस्था गरिने बताए। खेतीयोग्य जमिन, पानीको स्रोत, उपभोक्ता सङ्ख्याका आधारमा योजना छनोट हुने बताउँदै उनले पक्की कुलो निर्माणमा डिभिजन कार्यालयको सहयोग भएको तर मर्मतसम्भार र संरक्षण गर्न नसक्नु उपभोक्ताको कमजोरी रहेको औँल्याएका छन् ।गोरखापत्र