धनगढी। नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए। एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएको थियो । मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए। त्यसपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए ।
शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं गएका छन् ।श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गएको बताए ।
“उहाँ(मुख्यमन्त्री) ले व्यक्तिगत रूपमा निर्णय गर्नुभएको हो । विश्वासको मत दिने बारेमा पार्टीमा कुनै छलफल भएको छैन,” रावलले भने, “पार्टी नेतृत्वसँग सल्लाह गर्न काठमाडौं जादैछौँ ।”एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ बैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यसअघि सोडारीले २ बैशाखमा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए तर एमाले, माओवादीको समर्थनमा नाउपाका कैलाश चौधरीले पनि दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक आह्वान गरेपछि सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएर आफूले दाबी गरेका थिए ।एमाले, माओवादी, नेकपा एस, नाउपा र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा हाल कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।