कैलाली। सुदूरपश्चिममा कार्यव्यवस्था बैठक बस्न नबस्दा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने विषय अनिश्चित बनेको छ । १८ गते नै सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेको थियो।
सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ। आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो।
तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन। एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि आज प्रदेश सभा बैठक नै नबस्न सक्ने बताइएको छ। यसै बिच नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले आज सोडारीलाई बिश्वासको मत नदिन ह्विप जारी गरेको छ।