धनगढी। कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फरक–फरक मितिको फैसलाले हातहतियार खरखजना मुद्दा, वन मुद्दामा, चेक अनादर मुद्दा, बोक्सि आरोप मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्।
हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय र ६ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१० बस्ने २७ वर्षीय प्रदेश चौधरी, वन मुद्दामा २० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-२ बस्ने ६५ वर्षीय लालबहादुर साँउद, चेक अनादर मुद्दामा ४ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय दुर्गाबहादुर कार्की पक्राउ परेका छन्।
यस्तै बोक्सि आरोप मुद्दामा जरिवाना ११ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ५२ वर्षीय देवबहादुर लुहार पक्राउ परेका हुन्। अदालतको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका चारै जनालाई बिहीवार प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।