काठमाडौँ। हिजो (बुधबार) तोलामा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि २ हजारले बढेको छ। नेपाली बजारमा आज सुन र चाँदी दुबै धातुको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार एकैदिन २ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज एकैदिन फेरि २ हजार रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हिजोको भन्दा १५ रुपैयाँ बढी हो। बुधबार चाँदी प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १७ अमेरिकी डलरमा किनबेच भइरहेको महासंघले जनाएको छ।