सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् ।
चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन/तीन जना मन्त्री नियुक्त गरे ।
माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार नियुक्त भएका छन् ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रणसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।नवनियुक्त मन्त्रीमध्ये महेन्द्र केसी, वीरबहादुर शाही, दुर्गा रावत र शेरबहादुर बुढाले शपथ लिइसकेका छन् ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमालेका विनोद शाह भने शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । राज्यमन्त्री गमता विकलाई मुख्यमन्त्री कँडेलले शपथ ग्रहण गराएका छन् ।