बझाङ। बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य भइरहेको अधिकारीहरूले बताएका छन् ।
निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा आज उपचुनाव हुन लागेको हो।
प्रदेश सभा निर्वाचन १ अर्न्तगतका ७४ मतदानस्थल र ९३ वटै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । ६१ हजार ७ सय ४८ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा मतदानको लाइन भने सबै केन्द्रमा पातलो देखिन्छ । बिहानको समय मानिसहरु काममा व्यस्त भएको हुनाले खाना खाइसके पछि मतदान केन्द्रमा मतदाताको संख्या बाक्लो हुने जिल्ला निर्वाचन अधिकारी मदन धामीले बताए ।
बिभिन्न दलबाट १२ जनाको उम्मेदवारी परेको छ।
मतदान कार्य व्यवस्थित र सुरक्षित बनाउनका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए ।सुरक्षा समितिको विश्लेषण अनुसार २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको कुइँकेलले बताए । सुरक्षा संवेदनशीलता हेरेर सातदेखि १५ जनासम्म प्रहरी एउटा मतदान केन्द्रमा खटाइएको छ । थप सुरक्षाकर्मीसहितको मोबाइल टोलीले पनि गस्ती गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले समन्वयतात्मक रुपमा काम गरिरहेको डीएसपी भरत शाहले बताए ।