काठमाडौं। इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।
इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए । ‘बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्, त्यहाँ १ हजार २४ जनशक्ति परिचालित हुनेछन्’, ढकालले भने, ‘मोबाइल जनशक्ति समेत निर्वाचनमा परिचालित हुनेछन् ।’
मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्नेछ ।
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै अनुमति दिएका छन् । प्रहरी प्रवक्ता ढकालले सबै सुरक्षा निकायसँगको सहयोगमा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउने बताए ।
‘बल प्रयोग गर्नुपर्ने स्थितिमा प्रहरीले मतदान अधिकृतसँग समन्वय गरेर जिल्लाको कमाण्ड पोष्टमा जानकारी गराएर सुरक्षा कारबाही गर्नेछ’, प्रहरी प्रधान कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक छाप र निर्वाचन कार्यमा खटिएका कर्मचारीको सुरक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहनेछ ।’ थप जनशक्ति आवश्यक परेपनि तयारी अवस्थामा रहने उनले बताए ।
निर्वाचनको समयमा निर्वाचन विरोधी दल र समूहको गतिविधि, जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य, अफवाह फैलाउने, धाकधम्की दिने, अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले त्यसलाई निस्तेज पार्न प्रहरी पूर्ण रुपमा तयार रहेको उनले बताए । मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्ने समेत उनले बताए । मतदातालाई अवरोध गरे वा मतदान स्थल वा केन्द्रमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गर्ने ढकालले बताए ।