बैतडी । मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएको छ । तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा २८ जना चितुवाको आक्रमणबाट मरिसकेका छन् ।
चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवाको पनि मृत्यु भएको छ । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उनी बैतडी आइपुगेका हुन् ।
पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ । अनुसन्धान टोलीमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिकसन र कलरा मार्थिनोभिक पनि रहेका छन्। युरोपमा मानव–वन्यजन्तुको द्वन्द्व नरहेकाले मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न उनीहरू आइपुगेको बताए ।
उक्त अनुसन्धानपछि यो क्षेत्रका बासिन्दाले सुरक्षा अपनाउन सक्ने आशा गरेको अध्ययन टोलीले बताएको छ । चितुवाको अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा १५ रातसम्म राखिने छन् । स्वचालित क्यामराले वन्यजन्तुको चाल र शरीरको तापक्रम पाउने बित्तिकै गतिविधि रेकर्ड गर्ने क्यामरा ट्र्यापर मल्लले बताए ।
“सामान्यतया चितुवाले आफ्नो बासस्थान र आहारा क्षेत्र १० दिनसम्म घुमिसक्छ । विस्तृत अध्ययनका लागि थप पाँच दिन स्वचालित क्यामरा राख्नेछौँ । चितुवाले किन मानिसको सिकार गरिरहेको छ ? जङ्गलमा चितुवाको आहाराका रूपमा घोरल, रतुवा जस्ता के कति वन्यजन्तु छन् ? भन्ने कुरा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरेको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषले मेलौली नगरपालिका–९ मा मानव–वन्यजन्तुबिचको द्वन्द्वका विषयमा कार्यक्रम सञ्चालनमा रहेको वडाध्यक्ष लोकराज भट्टले जानकारी दिए । उहाँले चितुवा प्रभावित बस्तीमा स्थानीय दुई वटा सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जनका कार्यक्रम गर्न समुदायलाई १८ लाख रुपियाँ सहयोग मिलेको उनले बताए ।
चितुवाको उद्धार-यसैबिच मङ्गलबार बिहान सिगास गाउँपालिका–९, च्वाँभेरीखोलामा थापेको पासोमा फसेको चितुवाको उद्धार गरिएको छ । प्रकृति संरक्षण कोष शुक्लाफाँटाको उद्धार टोलीले चितुवाको उद्धार गरेको हो ।