काठमाडौं। इलाम–२ र बझाङ–१(१) मा हुने उप–निर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि उम्मेदवारले प्रचार गर्ने आज अन्तिम दिन हो।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न नपाइने कानूनी प्रावधान छ। वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ उमेदवार प्रतिस्पर्धामा छन्। इलाम–२ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ–१(१) मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि यहाँ उप–निर्वाचन हुन लागेको हो।
वैशाख १५ गते बझाङ र इलाममा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ। उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्।
मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ। उपनिर्वाचन इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ। प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन्। उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ।