काठमाडौँ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् । राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।
बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् । अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् ।
सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी हुने बताइएको छ । बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । अमिर शेख बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।