कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्ण पदकबाट विभूषित गरेका हुन् ।
दीक्षान्त समारोहमा दीक्षित तीन सय ७६ बढी विद्यार्थीहरूमध्ये नौ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरे। विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नाकोत्तर हेमन्त भट्टले चान्सलर पदक प्राप्त गरेका छन् । इञ्जिनियरिङ सङ्कायमा स्नातक नवीनप्रसाद जोशीले भाइस चान्सलर पदक प्राप्त गरे।
केन्द्रीय क्याम्पसका नीराकुमारी जोशी, गणेशदत्त शर्मा,हेमन्त भट्ट,हरिशप्रसाद अवस्थी, अभिषेक नेगी, सुनील थापा, नवीनप्रसाद जोशी र टीकापुर बहुमुखी क्याम्पसका विरेन्द्र चौधरी र टार्जन भण्डारीले स्वर्ण पदक प्राप्त गरे ।
दीक्षान्त समारोहमा इञ्जिनियरिङ सङ्कायका १७ जना, विज्ञान तथा प्रविधि सङ्कायका २२ जना, व्यवस्थापन सङ्कायका एक सय ३९ जना, मानविकी सङ्कायका ६८ जना, शिक्षा शास्त्रका एक सय जना र कृषि विज्ञान सङ्कायका ३० जना गरी तीन सय ७६ जना विद्यार्थी दीक्षित भए। विसं २०६८ मा स्थापना भएको विश्वविद्यालयले विसं २०७१ देखि शैक्षिक कार्यक्रमअघि बढाएको थियो। विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन ।