काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए ।
न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।
स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो। जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन्। वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ। उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१/३/१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ। अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ।