सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । भने ५२ जना सख्त घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन्। अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए । बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको उनले बताए।
जिल्ला प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार घाइतेलाई खाडीचौर बजारमा रहेको सिन्धु सदाबहार अस्पतालमा उपचार्थ ल्याउने काम भइरहेको छ। मृतकको पहिचान भइसकेको छैन, बस भीरमा भएकोले उद्धार गर्न कठिन भइरहेको छ , तत्काल उद्धारमा जुटेकाले हामी त्यतै व्यस्त छौ, उनले भने। दोलखाबाट तौथली हुँदै त्रिपुरासुन्दरी गापा- ४ पिस्करमा बेहुली लिन हिँडेको जन्ती बसमा ५५ जना सवार थिए। आहिले स्थानीय र सुरक्षाकर्मी मिलेर उद्धार कार्य भइरहेको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।