धनगढी : हिजो मात्रै सुदुरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घ बहादुर सोडारी नेकपा विभाजनपछि पनि विवादमुक्त रहेनन् । नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका बेला तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने पूर्व सन्ध्यामा आफ्नै पार्टीका नेतामाथि हातपात गरेको आरोप उनीमाथि लागेको थियो । एमाले केन्द्रिय सदस्य तथा प्रदेश सचिव समेत रहेका हालका एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि हातपात गरेको आरोप सोडारीमाथि लागेको थियो । २०७८ जेठ २४ गते साँझ रावल पार्टी निर्देशनअनुसार मन्त्री सोडारीसहित प्रदेशसभा सदस्यहरूलाई जारी गरिएको ह्विपसम्बन्धी पत्र पुर्याउन गएका थिए ।
त्यसबेला रावलले भनेका थिए, ‘भोलि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले म पार्टीको निर्णयअनुसार नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको थिए । उहाँको अनुमति पाएपछि मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरेको मात्रै के थिए उहाँले मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो । चिठ्ठी हातबाट खोस्ने प्रयास गर्नुभयो । राक्षसी व्यवहार देखाउनुभयो । तर मैले मन्त्रालय र मन्त्री पदको कदर गर्दै प्रतिवाद गर्न उचित ठानेन ।’ तर सोडारीले त्यसको कडा प्रतिवाद गरेका थिए । आफूले कुनै दुर्व्यवहार नगरेको उल्टै रावलले मन्त्रालयमा तोडफोड गर्न खोजेको र जबरजस्ती ह्विप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गरेको भन्दै आपत्ति जनाएका थिए ।
आज उनै राजेन्द्र रावलको सहयोगमा ४७ वर्षीय सोडारी मुख्यमन्त्री बन्न पुगेका हुन् । रावल बिगतदेखी हालसम्म सोडारीले गरेको ब्यवहार र गतिबिधि देखेर समर्थन गर्ने पक्षमा थिएनन् । तर बिकल्प खोज्दै अन्तिम समयमा पुग्दा सम्म नेकपा एकिकृत समाजवादीले उनै सोडारीलाई मुख्यमन्त्रीको उमेदवार बनाएपछि एमाले समर्थन गर्न पुगेको हो । २०७८ मा हात हालाहाल भएका सोडारी र रावल हालको गठबन्धनमा एउटै ठाउँमा पुगेपछि उनिहरुको बिगत बारे चर्चा भइरहेको छ ।