धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले प्रदेश प्रमुख नजिर मियाबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।
बिहीबार दिउँसो सोडारीले एमाले १०, माओवादीका १०, नेकपा एकीकृत समाजवादी ४ र नागरिक उन्मुक्ति पार्टी २ र स्वतन्त्र १ को समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसअघि गत आइतबार नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले–माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।
सोडारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणमा भएका दल नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, नेकपा एकीकृत समाजवादी चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ। सो सङ्ख्या सुदूरपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्। प्रदेश सभाको पहिलो ५ बर्षे पुरै कार्यकाल नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले खाएका थिए । त्यसपछि प्रदेश सभाको दोस्रो कार्यकालको एक महिना नेकपा एमालेबाट मुख्यमन्त्री बनेका रोजन्द्र सिँह रावल, तेस्रो मुख्यमन्त्रीमा काँग्रेसका कमल बहादुर शाह बनेका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गरेका थिए । सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी चौथो मुख्यमन्त्री बनेका छन्।
को हुन् मुख्यमन्त्री सोडारी ?
२०३४ फागुन १६ गते मंगलसेन नगरपालिका वडा नम्बर १४ अछाममा जन्मिएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको हालको स्थायी ठेगाना कैलालीको गौरीगंगा नगरपालिका–५, अण्डैया हो । हाल प्रदेशको अस्थायी ठेगाना धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका छन् । बुवाको नाम लोकबहादुर सोडारी र आमाको नाम कटुदेवी सोडारी र पत्नीको नाम गीता सोडारी हो । एक छोरा र एक छोरी रहेका सोडारीको शैक्षिक योग्यता शिक्षाशास्त्र मार्फत स्नातक गरेका छन्। प्रत्यक्ष, कैलाली, क्षेत्र नं. ४ (१) बाट चुनाव लडेका सोडारी हाल सुदुरपश्चिम प्रदेश नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका दलका नेता हुन् । उनको राजनीतिक यात्रा २०५१ सालमा नेकपा (एमाले) निकट अनेरास्ववियुको कैलाली बहुमुखी क्याम्पस, प्रारम्भिक कमिटी उपाध्यक्ष, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य बनेका थिए । २०५८ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०६३ मा जिल्ला सचिवालय सदस्य हूँदै २०६६ मा जिल्ला कमिटी सचिव र २०७० मा जिल्ला कमिटी अध्यक्ष बनेका थिए । २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार त्यसपछि २०७४ माघदेखि २०७५ कात्तिकसम्म सामाजिक विकास मन्त्री बनेका थिए । प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री । २०७९ सालको निर्वाचन बाट पुनः अत्याधिक मत ल्याएर कैलाली निर्वाचन क्षेत्र न. ४ बाट निर्वाचित । पटक पटक गरेर २१ दिन जेल बसेको। प्रदेश सभामा अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सदस्य । विभिन्न संघ–संस्थाको सहकार्यमा सामाजिक विकासका काम गरेको अनुभव रहेको छ । २०६४ को संविधान सभा निर्वाचनमा पराजय बेहोरेको नेकपा (एमाले) लाई २०७४ मा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा एकल बहुमत दिलाउने गरी संगठन तयार गरेको अनुभव रहेको छ ।