धनगढी। नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेले समर्थन गरेको छ। नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको निर्देशनपछि एमाले संसदीय दलले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको हो।
आजै सोडारी प्रदेश प्रमुख नाजिर मियाँ कहाँ दावी पेस गर्ने छन्। एमाले, माओवादी, नागरिक उन्मुक्ति रन्जिता पक्षका सांसद र स्वतन्त्र सांसद डा.तारा जोशिको समर्थनमा नेकपा एकीकृत समाजवादीका सोडारीले मुख्यमन्त्रीमा समर्थन दावी पेस गरेका हुन। प्रदेश प्रमुखले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।
प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गरेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय पनि गरेको छ। बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको थियो। सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई आज दिउँसो २ बजेसम्म अल्टिमेटम दिने अवस्थामा पुगेको थियो।
एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले केन्द्रको निर्देशन कुरेर बसेको बताएका थिए।नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको निर्देशनपछि एमाले संसदीय दलले सोडारिलाई मुख्यमन्त्रीमा समर्थन गरिसकेको छ ।नेता रावलले केन्द्रबाट एमाले हामीलाई जे निर्देशन आउँछ, त्यही गर्ने बताएका थिए। पार्टी केन्द्रले समर्थन गर्ने निर्णय अनुसार समर्थन गर्ने उनले बताएका थिए।सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।