धनगढी। सुदूरपश्चिमका दुई लाख १० हजार २४३ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । सरकारले बिहीबार र शुक्रबार देशभर सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो।
त्यसैगरी १ देखि ५ वर्ष उमेरका एक लाख ८४ हजार २५४ बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीका ६२ हजार ३५० बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । त्यस्तै, कञ्चनपुरका ३७ हजार ५२३ बालबालिका, अछामका २१ हजार ४८, बैतडीका २० हजार ७१२, डोटीका १९ हजार १९, बझाङका १५ हजार ६४९, बाजुराका १२ हजार ३३६, डडेल्धुराका ११ हजार ७०८ र दार्चुलाका ९ हजार ८९८ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
त्यसैगरी कैलालीका ५४ हजार ६९५ बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । कञ्चनपुरका ३३ हजार २५ बालबालिका, अछामका १८ हजार ३९५, बैतडीका १८ हजार १९५, डोटीका १६ हजार ६७३, बझाङका १३ हजार ५६७, बाजुराका १० हजार ७२०, डडेल्धुराका १० हजार २९६ र दार्चुलाका ८ हजार ६८८ बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो ।भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइँदै छ । कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।