धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले एकीकृत समाजवादीका दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने एमालेको संकेत गरेको छ।
गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको छ ।समाजवादीले आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ ।
मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरिसकेको छ । तर एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि राजनीतिक खटपट भएका स्रोतले जनाएको छ। अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरु विभिन्न तह र तवरले छलफल गरिरहेको बुझिएको छ ।
आफ्नो दललाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा गरिएको समर्थन एकीकृत समाजवादीले मंगलबार फिर्ता लिएको थियो । प्रदेश प्रमुखले यसअघिको दाबी पेस आह्वानमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबारसम्मको म्याद दिएर संविधानको धारा १६८ को २ अनुसार मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।
प्रदेश प्रमुखको उक्त कदम विरुद्ध मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मण किशोर चौधरीले अदालत जाने बताएका छन्। पत्रकार सम्मेलनमा चौधरीले प्रदेश प्रमुखले कानुन विपरीत सरकार निर्माणको समय लम्ब्याएको प्रति पनि आपत्ति जनाए । उनले भने, ‘त्यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ ।’ उनले सबै प्रक्रिया पुरा हुँदा पनि आफ्नो दाबी खारेज गरेको भन्दै असंवैधानिक काम भएको बताए । कांग्रेस संसदीय दलको नेता समेत रहेका प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले पनि प्रदेश प्रमुखबाट असंवैधानिक काम भएको भन्दै न्यायिक लडाइँ लड्ने बताएका हुन् । उनले त्यस बाहेकका अन्य दबाब समेत सृजना गर्ने बताए ।सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी नै दुई भागमा विभाजित रहेको छ।