धनगढी। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै दिनुपर्ने अडान राखेका छन्।
आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए ।
गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गर्दै झलनाथले ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको बताएका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको भन्दै एकीकृत समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका थिए । उनले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए ।
‘सुदूरपश्चिमको विवाद आज बेलुकासम्म मिलाउने कोसिस गर्छु, तपाईंले पनि आफ्नो पार्टीभित्र मिलाउन पहल गर्नुस्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएपछि सत्ता गठबन्धनभित्र तरंग सिर्जना भएको छ ।एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति गरेका छन् ।
सो सहमति अनुसार लक्ष्मणकिशोरले आइतबार नाउपाका ७ जना, कांग्रेसका १८ जना र एकीकृत समाजवादीका ४ जना गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन आफूलाई भएको भनेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।यसैगरी नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि नाउपाका ७, एमालेका १०, माओवादी केन्द्रका १० र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी गरी २८ जनाको समर्थन आफूलाई भएको भन्दै आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । नाउपाबाटै दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखले परामर्श गर्ने भन्दै निर्णय लिएका छैनन् ।