धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुखले विधि,विधान,प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो नहुने बताएका छन्। प्रदेश सरकारका काम चलाऊ मुख्यमन्त्रीको हैसियतमा रहेका शाहले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘हिजो हामीले दाबी पेस गरिसकेपछि आज पनि हामीले प्रदेश प्रमुखसँग छलफल गरेका छौँ। हामीले छिटोभन्दा छिटो निकासको लागि अनुरोध गरेका छौँ । विधि, विधान, प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो हुँदैन भनेर भनेका छौँ। मैले बसेको कुर्सीमा चाँडो भन्दा लक्ष्मणकिशोर चौधरीलाई बसाउने मेरो तथा मेरो दलको प्रयत्न हो उनले भने।’ यस्तै मुख्यमन्त्री शाहले सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोहले देशभर नै नयाँ सत्ता समीकरण भत्किने निश्चित भएको दाबी गरेका छन्।
उनले अगाडि थपे, ‘देशलाई नै अस्थिरता र अनिर्णयको बन्दी बनाउनको लागि माओवादी, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेको हो । यसको औचित्य सावित भइसकेको छ । जुन औचित्यहीन छ भन्ने कुराको सुरुवात सुदूरपश्चिमबाट एकीकृत समाजवादीले गरेको छ । जुन राष्ट्रको हितमा छ ।’ सुदूरपश्चिममा कांग्रेस, नाउपा, समाजवादी र राप्रपाको वैकल्पिक गठनको सरकार बन्ने निश्चित रहेको बताउँदै उनले प्रदेश प्रमुखबाट निर्णय गर्नमा ढिलाइ भएकोप्रति असन्तुष्टि समेत जनाए ।