धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी रेशम पक्षले दाबी पेष गराए लगत्तै नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेष गरेका छन् ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरी हुन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ। बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो।
तर, नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। यता, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीको विधान दर्ता नभएको लगाएतका कारण देखाउदै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। कैलाशको पक्षमा माओवादीका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि चैत २३ गते प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि १० दिनको म्याद दिएर आह्वान गरेका थिए । जसको म्याद आज सकिँदै छ । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको
र नागरिक उन्मुक्ति पार्टीको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पुर्नबहाली भएको छ। हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।