धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। उनले आइतबार नाउपा सँगै नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा चौधरीले दाबी पेस गरेका हुन ।
पार्टी संरक्षक रेशम चौधरी पक्षका सांसद रहेका लक्ष्मण किशोरले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन् ।एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले लक्ष्मण किशोरलाई मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गरेका छन्। नाउपा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच समझदारी गरेर कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि अघि सारेकी छिन । उनको पक्षबाट पनि कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको छ । श्रेष्ठ पक्षले एमाले, माओवादी, एकीकृत समाजवादीको साथ रहेको दाबी गरिरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि चैत २३ गते प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि १० दिनको म्याद दिएर आह्वान गरेका थिए।
जसको म्याद आज सकिँदै छ । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ। तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।