कैलाली। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ। आज (आइतबार) बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो । नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानदेखि सुदूरपश्चिममा नयाँ सरकार गठन गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफलमा सत्तारूढ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी थिए । सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ।
त्यसअघि शक्ति बाँडफाँट तथा मन्त्रालय भागबन्डा टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख मियाले चैत २३ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसपछि सत्ता गठबन्धनबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति भएको थियो।