धनगढी। जिल्ला अदालत कैलालीमा सम्वन्ध विच्छेद, लागुऔषध र बैङ्किङ कसुरका मुद्दा दर्ता हुने सँख्या बढेको छ। जिल्ला अदालत कैलालीका अनुसार अदालतमा पछिल्लो समय त्यस सम्बन्धी मुद्दा दर्ता हुने संख्या ह्वात्तै बढेको हो । चालु आर्थिक वर्षको चैतको तेस्रो हप्तासम्ममा १ हजार ७ सय १९ नयाँ मुद्दा दर्ता भएका छन्।
सम्वन्ध विच्छेद, लागुऔषध र बैङ्किङ कसुरका मुद्दा सबैभन्दा बढी छन्। जिल्ला अदालत कैलालीले गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका १ हजार ६१२ मुद्दासहित यो वर्ष ३ हजार ३३१ मुद्दा परेको जनाएको छ ।जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर विष्टले अदालतमा बिवाहपछि सम्बन्ध बिच्छेदका मुद्धा दर्ता हुनुमा घरायसी झगडा,मनमुटाव,सामाजिक सञ्जाल,एक अर्काप्रतिको बिश्वासमा कमी, अरुसँगको प्रेम सम्बन्ध रहेको बताए ।
संगै जिउने मर्ने बाचा कसम खाएर बैवाहिक बन्धनमा बाँधिएका जोडिहरु बिवाह भएको केही समयमै सम्बन्ध बिच्छेद गर्न आउने गरेका छन् । कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारण रहेको बताए । उनले विदेशमा रहँदा श्रीमतीले धन सम्पत्ति मासेको, परपुरुषसँग लागेको लगायत कारण कारणले सम्वन्ध विच्छेद हुने गरेको छ । अदालतमा लागुऔषध, सम्बन्धविच्छेद र बैङ्किङ कसुरका मुद्दा भयावह रुपमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको साढे आठ महिनामा कुल मुद्दाको ५३ दशमलव ६२ प्रतिशत मुद्दाको फैसला भएको छ।
अदालतमा परेका मुद्दाहरूको प्रकृति अनुसार तीन समूहमा वर्गीकरण गरेर चार जना जिल्ला न्यायाधीशले गोलाप्रथा मार्फत छनोट भएका मुद्दा हेर्ने गरेका छन् । अदालतमा परेका मुद्दालाई सरल मार्ग प्रकृति, सामान्य र विशेष मार्ग प्रकृति गरी तीन समूहमा वर्गीकरण गरि सुनुवाइ गरिने गरिएको छ । मुद्दाहरूको प्रकृति अनुसार सुनुवाइ सम्पन्न गर्न अधिकतम समय तोकिएको हुन्छ। सरल मार्ग प्रकृतिका मुद्दा किनारा लाग्न ६ महिना, सामान्य मार्ग प्रकृतिका मुद्दाको फैसला हुन बढीमा एक वर्ष र विषेश मार्ग प्रकृतिको मुद्दाको फैसला गर्न सामान्यतया १८ महिना लाग्ने आदालती व्यवस्था छ।
चालु आर्थिक वर्षको चैत १८ गतेसम्म ३ हजार ३३१ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका एक हजार ६१२ र यो वर्षमा दर्ता भएको र थप एक हजार ७१९ मुद्दा जिल्ला अदालतमा परेका छन्। जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर बिष्टले चालु आर्थिक वर्षकोहालसम्ममा कैलाली अदालतबाट १ हजार ७८३ मुद्दाको फैसला भएको बताए। कुल विचाराधीन मुद्दाको ५३ दशमलव ५२ फैसला भएको छन् । अदालतमा परेका कुल मुद्दामध्ये एक हजार ५४८ मुद्दाको फैसला हुन बाँकी रहेको उनले बताए। फैसला हुन बाँकी मुद्दामध्ये २७२ थान मुद्दा आगामी असार मसान्तमा दर्ता भएको १८ महिना पूरा हुनेछ। अदालतमा हरेक दिन चारवटा इजलास बस्ने गरेको छ। कैलाली अदालतमा परेका मुद्दाको प्रकृति हेर्दा लागुऔषध, सम्बन्धविच्छेद र बैङ्किङ कसुर अर्थात् चेक अनादर मुद्दाको संख्या बढ्दो रहेको श्रेस्तेदार बिष्टले बताए।