धनगढी। सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो ।
नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिएका थिए ।मुख्यमन्त्री शाहले राजीनामा दिएपछि संविधानमा भएको व्यवस्थाबमोजिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेका छन् ।
संविधानको धारा १६२ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबीको आह्वान गरेका छन् । प्रदेश प्रमुखले आह्वान गरे अनुसार मुख्यमन्त्री नियुक्तिको समयसीमा आउँदो वैशाख २ सम्म तोकिएको छ । नयाँ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) मिले पनि सरकार गठनमा बहुमत पुग्दैन ।
बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धनसँग माओवादीका १०, एमालेका १० र समाजवादीका चार गरी २४ जना प्रदेश सदस्य रहेका छन् । नयाँ गठबन्धनलाई सरकार गठन गर्न राप्रपाका एक र स्वतन्त्र एक सदस्यले समर्थन गर्दा पनि बहुमत पुग्दैन । बहुमत पु¥याउन नागरिक उन्मुक्ति पार्टी नै निर्णायक देखिएको छ ।
सरकार गठनका लागि उन्मुक्ति पार्टी निर्णायक रहेकाले सो पार्टीलाई मनाउने प्रयास जारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले बताए । “नागरिक उन्मुक्तिलाई गठबन्धनमा ल्याउने प्रयास जारी छ,” उनले भने, “सो पार्टीका प्रदेश सभा सदस्यहरू काठमाडौँमा रहेकाले तत्काल बसेर छलफल गर्न नसकिरहेको अवस्था छ ।” यसअघिको सरकारमा उन्मुक्ति पार्टीले थप मन्त्री पठाएपछि सो पार्टीभित्र आन्तरिक विवाद चुलिएको थियो ।गोरखापत्रबाट