धनगढी। कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डका दुईवटा पुल निर्माणको काम अलपत्र परेको छ। उक्त सडक अन्तरगत गौरीफन्टा क्षेत्रको मोहना नदीमा पुल निर्माणको काम सुरु भए पनि गोदावरी नगरपालिका–५ गेटा क्षेत्रका दुईवटा पुल निर्माणको काम भने अलपत्र अवस्थामा परेका हुन्।
राजेन्द्र निर्माण सेवाले ठेक्का लिएको सुनिखोला पुलको म्याद सकिएको ९ महिना वितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन्। पुलको एक साइट अधुरै छ । साथै मनहरा खोलाको पुलको डिजाइ संशोधनका लागि फाइल विभागमा पठाएको तीन महिना वितिसक्दा पनि स्वीकृत भएको छैन।
सडक कालोपत्रे गरी अत्तरिया–धनगढी मोहनापुल ६ लेन सडक आयोजना कार्यालय खारेज भएपनि पुलको काम भने अड्किएको छ । सुनी खोलामा ३ करोड ७७ लाखमा लागतमा राजेन्द्र निर्माण सेवासँग पुल बनाउन ठेक्का सम्झौता भएको थियो । पटक पटक म्याद थप सडक हेर्ने जिम्मेवारी पाएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले निर्माण कम्पनी सम्पर्कविहीन भएको बताए । २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने सर्त राजेन्द्र निर्माण सेवा २०७७ कात्तिकमा ठेक्का दिइएको थियो । तर सो निर्माण कम्पनीले अधुरो काम गरी सो पुलको योजना अलपत्र छोडेको छ।
पटकपटक सम्पर्कमा आउन पत्र आग्रह गरिएपनी अन्ततः अब राजेन्द्र निर्माण सेवाको धरौटी झिकेर कारबाही गर्नुको विकल्प नभएको बताए । दुई पटक म्याद थप गरी २०८० असार मसान्तसम्म म्याद दिइएको भएपनि काम नभएको उनले बताए । तेस्रो पटक म्याद थप नभएकोर पछिल्लो पटक उहाँहरू लापत्ता रहेको बताए। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तरतर्फको मनहरा खोलामा पुल निर्माणका लागि ठेक्का लगाइएको भए पनि डिजाइनमा परिवर्तन भएको निर्माण कार्य सुरु नै भएको छैन । परिवर्तन भएको डिजाइन सडक विभागबाट एक वर्षसम्म पनि स्वीकृत भएको छैन ।
इन्जिनियर चन्दले झन्झटिलो प्रक्रियाका कारण परिवर्तन भएको डिजाइन स्वीकृत नभएको र एक वर्षदेखि फाइल अघि नबढेको बताए ।अहिले त्यो फाइल महानिर्देशककोमा पुगेको भन्दै केही दिनमै स्वीकृति हुने कुरा आएको बताए । नयाँ डिजाइन स्वीकृत भएमा एक हप्तामा निर्माण सुरु हुने जानकारी दिए । मनहरा खोलाको पुन निर्माणका लागि उच्चाकोटी, साधिन्देश्वर र शनिदेव जेभीलाई ६ करोड ८९ लाख दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको छ । यसैगरी, त्रिनगर भन्सार नाका पर्ने मोहना खोलामा पुरानो पुलसँगै बन्न लागेको पुलको भौतिक प्रगति ३५ प्रतिशत भएको छ ।
२०७८ फागुनबाट निर्माण सुरु गरेको रायमाझी कन्स्ट्रक्सनले दिएको समयावधि सकिन लाग्दासमेत निर्माण कार्य अगाडि बढ्न सकको थिएन् ।योजना कार्यालयले २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने सर्तमा १३ करोड ३६ लाखमा ठेक्का सम्झौता भएको बताए । इन्जिनियर चन्दले केही समय विवादका कारण रोकिएको पुल निर्माण अहिले पायल निर्माणको काम भइरहेको बताए । सो पुलमा ४ पायरसहित ६ वटा फाउण्डेसन राखेर निर्माण हुँदैछ ।सडकलाई कमनलेनबाट ६ लेनमा विस्तार गरिएको र पुरानो पुलको आयु सकिन लागेको हुनाले सो ठाउँमा नयाँ र चौडा पुल निर्माण गर्ने योजनाका साथ काम भइरहेको बताए । ६ लेन पुल बन्नुअघि दुई लेनको सडक थियो भने पुल कमन लेनको बनाइएको थियो । निर्माणाधीन पुलहरू अलपत्र परेका कारण ६ लेन सडकमा बोटल नेक कायमै छ । जसले गर्दा तीव्रगतिमा आएका गाडीहरू एक्कासि साँघुरो सडकमा पुगेपछि दुर्घटनाको जोखिम छ भने ती पुल क्षेत्रमा गाडीको जाम पर्ने गरेको छ ।