कैलाली। बिभिन्न मुद्दामा फरार रहेका कैलाली र दार्चुलाका ५ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
वन्यजन्तुको अवैध सिकार,चेक अनादर, छुवाछुत मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादीहरुलाई बिहीवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट प्रहरी टोली खटिएको थियो।
पक्राउ पर्नेमा वन्यजन्तुको अवैध सिकार मुद्दामा १० हजार जरिवाना ठहर भएका धनगढी वडा नम्बर १५ का जितबहादुर राना, चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका–१ का खडके देउवा, सोही मुद्दामा १ महिना कैद सजाय र ३ हजार जरिवाना ठहर भएका दार्चुलाको शैल्यशिखर नगरपालिका-९ बस्ने दिनेशराज बिष्ट रहेका छन्।
यस्तै छुवाछुत मुद्दामा ५सय जरिवाना ठहर भएका धनगढी वडा नम्बर ३ का ओम प्रकाश पाण्डेय र चोरी मुद्दामा १ हजार ९ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्ने ज्ञानु चौधरी रहेका छन् । उनीहरु पाँचै जना फरार प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।