धनगढी। धनगढीको एसपिए कलेजमा भोलि शुक्रबार निःशुल्क सिनेमा साक्षरता कार्यक्रम हुने भएको छ। फिल्म पढाउने अस्कर कलेजको देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ अन्तर्गत भोलि एसपीए एकेडेमीमा सिनेमा साक्षरता कार्यक्रम हुन लागेको हो ।
विद्यार्थीहरुलाई सिनेमाका बारेमा जानकारी दिने उद्देश्यले भोलि बिहान यथार्थ शुक्रबार ११ वजे धनगढीस्थित एस पि ए कलेज सिनेमा साक्षरता कार्यक्रम हुन लागेको धनगढीका कलाकार राजकुमार जोशीले जानकारी दिनुभयो । चैत १४ गते बिर्तामोडबाट सुरु भएको अभियान बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल घोराहीमा सम्पन्न भई भोलि धनगढीमा सञ्चालन हुन लागेको हो ।
अभियान पोखरामा गएर समापन हुने ओस्कार कलेजका प्राध्यापक रामराजा दाहालले जानकारी दिए। उनका अनुसार नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले अभियान सञ्चालन गरेको प्राध्यापक दाहालले जानकारी दिए। सिनेमाका अधिकांश गतिविधि राजधानीकेन्द्रित भएकाले काठमाडौंबाहिर यस्ता अभियान गर्नुपर्ने आवश्यकता देखेको दाहालले बताए ।
अभियानले सिनेमा सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरु, सिनेमा इतिहास, चरित्रबारे कार्यशाला गर्नेछ । कार्यशालामा कलेजबाट दीक्षित र पढिरहेका दुई विद्यार्थीको फिल्मसमेत देखाइने तयारी छ । ‘नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरेर सिनेमा साक्षरता अभियान गर्ने प्राध्यापक दाहालले भन्नुभयो । यो अवसरलाई प्राप्त गर्न कलासम्बन्धी जानकारी लिन एसपीए कलेजमा कार्यशाला सहभागी हुन प्रशिक्षार्थीहरु आह्वान गरेका छन्।