धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ । ३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि आज(बिहीबार) प्रदेशसभाको बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको बैठक आज ५ बजेका लागी सारिएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि विश्वासको मत लिने अन्तिम दिन हो ।
नेकपा माओवादी केन्द्र र समाजवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एक महिनासम्म नागरिक उन्मुक्तिबाट विश्वासको मत पाउने आशामा रहेका मुख्यमन्त्री शाहले अब भने विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । उनको नेतृत्वको सरकार जोगाउनका लागि नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य निर्यायक हुन् । तीमध्ये ५ जनालाई उनले मन्त्री बनाए पनि, २ जनाले भने मत नदिने संकेत गरेका छन् ।
५ जना मध्ये पनि रेशम पक्षकी भनिएकी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री ईन्द्रा गिरिलाई अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले बुधबार कारबाही गरेपछि रेशमको पक्षमा ४ जना मात्रै प्रदेशसभा सदस्य बचेका छन् ।अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मतका लागि अन्तिम कसरत गरिरहेका छन्। उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ।
राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह रहेका छन्। सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ।